भाटभटेनी खुलेपछि छलाङ मारेको आइएमएस सफ्टवेयर, विदेशी कम्पनीसँग कारोबार बढाउँदै

काठमाडौं। कुनै समय थियो जतिबेला सफ्टवेयर पनि किन्ने चिज हो र भनेजसरी ठूला कम्पनीदेखि सर्वसाधारण नाक खुम्च्याउँथे। सामान्य पसलमा भेटिने पाइरेटेड सीडी किनेरै आफूलाई आवश्यक परेका सफ्टवेयर जोगाड गर्ने हाम्रो बानी जस्तै भएको थियो।

केही वर्ष अघिसम्म पनि सफ्टवेयर किनेर आफ्नो काम सजिलो हुन्छ भन्ने सोचाइ खासै थिएन। सफ्टवेयरबारे निकै बुझाएर मात्रै त्यसलाई बिक्री गर्नुपर्ने बाध्यता थियो। तर २० वर्षअघि स्थापित भएको एउटा कम्पनी भने सफ्टवेयरबारे बुझाउन त्यसैबेलादेखि लागिपरेको थियो।

राजेन्द्र शाक्य र सगुनबहादुर ताम्राकारले सन् २००० मा दुई वटा कोठा र दुई वटा कम्प्युटरबाट आइएमएस सफ्टवेयर प्रालि सुरु गरेका थिए जसले सफ्टवेयरलाई नेपाली बजारमा स्थापित गर्न धेरै मेहनत गरे।

सगुनले आइएमएस सफ्टवेयर खोल्नु अघि हार्डवेयरसम्बन्धी काम गर्थे। उनले राजेन्द्रसँग मिलेर आइएमएस सफ्टवेयर खोले। हार्डवेयरसँग सम्बन्धित काम गर्ने गरेका सगुनले सफ्टवेयरसम्बन्धी काम आएपछि राजेन्द्रलाई कम्पनीमा गुहारेका थिए।

कम्पनीले बायोमेट्रिकसम्बन्धी काम गर्ने भयो। भारतीय दूतावासबाट माग आयो। इन्टरनेट नभएको सो समयमा सगुनले भारतीय दूतावासमा बायोमेट्रिक ल्याइदिने बाचा गरे। कहाँबाट बायोमेट्रिक ल्याउने उनीहरुलाई नै थाहा थिएन। विदेश जाने हैसियत आफूहरुसँग नरहेको बताउँदै सगुनबहादुरले विदेश जानेहरुलाई डिभाइस ल्याइदिन आग्रह गरे। तर, उनीहरुले पनि ल्याइदिन सकेनन्।

त्यसबेलाका अप्ठेरो सम्झिँदा सगुन आफूहरुले यहाँसम्म आइपुग्दा निकै लामो यात्रा तय गरेको बताउँछन्। कोरियाली कम्पनीको इमेल बल्लबल्ल एउटा कम्पनीबाट पत्ता लगाएर आइएमएसले पहिलो डिभाइस अर्डर गर्यो।। कम्पनीले त्यो डिभाइसलाई नेपालमै पहिलोपटक हाजिरी गर्ने मेसिन 'बायोमेट्रिक अटेन्डेन्स'का रूपमा प्रयोग थालेको थियो। कम्पनीले यूएफओमा पनि सबैभन्दा पहिलो अडेन्डेन्स डिभाइसहितको सफ्टवेयर प्रयोगमा ल्याइदिएको थियो।

सन् २००२ मा जागिरेका रुपमा डेभलपर अमितलाल जोशी आइएमएस सफ्टवेयरमा छिरे। त्यसको दुई वर्षपछि २००४ मा मार्केटिङ एक्जेक्युटिभका रूपमा सन्तोष ताम्राकार थपिए।

softwarenewsone

अटेन्डेन्स् डिभाइस (फिंगरप्रिन्ट) को प्रयोग गरी कुनै पनि कम्पनीले आफ्ना कर्मचारी कार्यालय आउने र जाने समय ट्रयाक गर्न सक्थे। अहिले सामान्य जस्तै बनिसकेको पे रोल, एचआरलगायतका फिचरसहितको सफ्टवेयर त्योबेला कल्पनाभन्दा पनि परको विषय लाग्थ्यो।

'मैले आफ्नै विद्यालयमा अटेन्डेन्स् डिभाइस जडान गर्न खोजेको थिएँ। एक जना नेपाली शिक्षकले बरु म जागिर छोड्दिन्छु अहँ औंलाको छाप दिँदै दिन्न भन्नुभयो। वहाँलाई पछ्याउँदै अरुले पनि औंठा छाप दिन अस्वीकार गरे। हल्लैहल्लाले विद्यालयमा काम हुन सकेन,' सन्तोषले अहिले सामान्य बनिसकेको हाजिरी गर्ने बायोमेट्रिक अटेन्डेन्स डिभाइसप्रति विश्वास दिलाउनै भएको समस्याबारे सुनाए।

अटेन्डेन्स् डिभाइस जडान गर्न आइएमएस सफ्टवेयरले धेरै अवरोध सामना गर्नुपर्योस। कतिपय कार्यालयहरुमा त समयमै कार्यालय आउनुपर्छ भनेर पनि कर्मचारीहरुले राख्नै नदिएको घटना पनि सन्तोषले सम्झिए। भारतीय दूतावासपछि सीता एयरले अटेन्डेन्स् डिभाइस जोडेको थियो। अटेन्डेन्स् डिभाइसमा यूएफओ, सीता एयरसँगै पेन्सनको सफ्टवेयर र डिपार्टमेन्ट स्टोर गरी तीनवटा क्षेत्रमा आइएमएसको प्रोडक्ट विस्तार भयो।

उनीहरुले केही समयसम्म त्यही अटेन्डेन्सकै कामलाई निरन्तरता दिए। टिम थपिँदै गयो र आफ्नो खुबीअनुसारका प्रोडक्टहरु थप्दै गए। एउटा मात्रै सफ्टवेयर प्रोडक्टले नहुने देखेर उनीहरुले नेपालमा लोकप्रिय हुँदै गएको डिपार्टमेन्ट स्टोर कल्चरलाई समाते। डिपार्टमेन्ट स्टोरमा आवश्यक पर्ने बिलिङ सफ्टवेयर अर्को प्रोडक्ट बनाउने तय भयो।

भाटभटेनी थियो। मेट्रो मल पनि थियो। सेल्वेज भन्ने पोखरामा थियो। नमस्ते र ब्लूबर्ड डिपार्टमेन्ट स्टोर थियो। अब डिपार्टमेन्ट स्टोर आउँछन् है भन्ने हिसाबमा त्यहाँ आवश्यक पर्ने सफ्टवेयर बनाउने कि भन्ने सोच आयो,' सन्तोषले भने। सफ्टवेयर बनाउने त भनियो तर, भर्खर सुरु गरेको कम्पनी र त्यसैमाथि भर्खरका युवाहरु। 'के बनाउँछौ होला र तिमीहरुले?, सफ्टवेयरको पनि पैसा तिर्नुपर्छ र? यस्ता प्रश्नहरुको सामना पाइला पाइलामा गर्नुपर्थ्यो।

'मार्केटिङ गर्दै आइडियाहरु पिचिङ गर्न थाल्यौं। तर, धेरै ठाउँबाट हामीलाई धपाए। सफ्टवेयर भनेको किन्ने वस्तु नै होइन भन्ने सोच्ने गरिन्थ्यो,' त्यतिबेला खेपेका प्रश्न र अविश्वास अब विश्वासमा बदलिइसकेको सन्तोषले बताए।

२००३ तिर आइएमएस सफ्टवेयरको पहिलो क्लाइन्ट बन्यो मेट्रो मल। तर, मेट्रोलाई भनेर तयार गरिएको सफ्टवेयर पोखराको डिपार्टमेन्ट स्टोर सेलवेजले सन् २००४ मा प्रयोग गर्‍यो।

सेलवेजले 'तिमीहरु सफ्टवेयर बनाऊ म पैसा तिर्छु' भनेपछि आइएमएसको टोलीले झण्डै तीन महिना पोखरा बसेरै काम गरेको थियो। काठमाडौंमा स्थापित नभइसकेकै अवस्थामा आइएमएस सफ्टवेयरलाई पोखराले बोलाएको थियो। विदेशमा छँदा सफ्टवेयरको सहयोगले काम गर्दा सहज हुन्छ भन्ने बुझेका सेलवेजका साहुजीले आफ्नो स्टोरमा पनि कम्प्युटराइजड बिलिङ जडानमा जोड दिए। साथै, पर्यटकहरुको बढी हिमचिम हुने भएकाले पोखरामा पश्चिमा देशहरु जस्तै सुविधा दिनसफ्टवेयर प्रयोग गर्नुपर्ने आवश्यकता देखिएकाले पनि उनीहरुले काम देखाउने मौका पाएका थिए।

'तीन महिनामा सफ्टवेयर बनाएर परीक्षण गर्नुका साथै आवश्यक परिवर्तनहरु गर्यौं। ट्रायल एण्ड रन जस्तो थियो। एक दिन एउटा अपडेट ल्याउने, यो त भएन इरर आयो भन्ने फेरि रातभर काम गर्ने अनि भोलि फेरि अर्को परीक्षण गर्ने,' यसरी सेलवेजमा सफ्टवेयर इन्स्टल गरेको सन्तोषले सम्झिए।

सेलवेजमा काम गर्नुअघि क्लाइन्ट थियो भारतीय दूतावास। सन् २००२ दूतावासले पोखरामा रहेको भारतीय सेनाको पेन्सन क्याम्पका लागि पेन्सनसम्बन्धी सफ्टवेयर निर्माण गर्ने काम दिएको थियो। स्टार्टअप आइएमएस सफ्टवेयरका लागि यो निकै ठूलो अवसर थियो।

भारतीय दूतावासले यसअघि नै पेन्सनसम्बन्धी कामका लागि अर्को सफ्टवेयर प्रयोग गरेको रहेछ। पुरानो सफ्टवेयर बनाउने मान्छेहरु एकाएक काम छोडेर फर्किए। डेटा सबै उक्त सफ्टवेयरमा थियो तर पासवर्ड थिएन। दूतावासले आइएमएसका सगुनसहितको टिमलाई उक्त डेटा निकाल्न सक्यो भने सबै काम दिने बतायो।

सगुनबहादुर ताम्राकारले पोखरा पुगेरै डेटा निकाले। एकै दिनमा उनको टिम सबै डेटा निकाल्न सफल भयो। दूतावासले त्यो काम देखेपछि सफ्टवेयरसम्बन्धी काम आइएमएस सफ्टवेयरलाई दिएको सगुनले जानकारी दिए।

मासिक ३० करोड रुपैयाँ हाराहारीको पेन्सन कारोबार हुने भएकाले कम्पनीले ठूलो चुनौती लियो। भारतीय सेनाबाट अवकास पाएका नेपालीहरुको सबै विवरणदेखि पेन्सन वितरणलगायतका काम त्यही सफ्टवेयरकै माध्यमबाट हुँदै आएको छ। 'तिमीहरुले गर्न सक्छौं भनेर भारतीय दूतावासले दिएको हौसला हाम्रो लागि ठूलो टर्निङ पोइन्ट थियो,' सगुनले भने।

सन् २००७ सम्म अमितलाल र सन्तोष दुवै आइएमएस सफ्टवेयरको कर्मचारीकै रुपमा कार्यरत थिए। अमितलाल र सन्तोष दुवैलाई कम्पनीका संस्थापकद्वय राजेन्द्र शाक्य र सगुनबहादुर ताम्राकारले सेयर स्वामित्व दिएरै कम्पनीमा भित्र्याउने प्रस्ताव गरे।

अमितलाल र सन्तोष आफ्नो छुट्टै कम्पनी सुरु गर्ने सोचमा थिए। तर, काम गरिरहेकै कम्पनी हाँक्ने मौकालाई उनीहरुले स्वीकार्ने निधो गरे। कर्मचारी भएर काम गर्नु र कम्पनीमा आफ्नो स्वामित्वसहित काम गर्नुमा फरक पनि त थियो। आइएमएस सफ्टवेयरले सन् २००८ मा भाटभटेनीलाई कम्पनीले बिलिङ सफ्टवेयरका लागि अप्रेच गर्योप। भाटभटेनीले महाराजगञ्जमा नयाँ आउटलेट सुरु गर्ने तयारी गरिरहेको थियो।

आक्रामक विस्तार रणनीतिका साथ अघि बढेको भाटभटेनीलाई स्थिर प्रणालीको आवश्यकता छ भन्ने आइएमएसले बुझिसकेको थियो। त्यसबेलासम्म आइएमएसले सानातिना करिब ६० वटा क्लाइन्ट बनाइसकेको थियो।

'२००८ मा हाम्रो भाटभटेनीसँग कुरा भयो। महाराजगञ्जको आउटलेट ओपनिङ हुने दिन सबैभन्दा बढी कारोबार भएको थियो। कुनै पनि रिटेल आउटलेटको सबैभन्दा ठूलो कारोबार थियो त्यो। हाम्रो सफ्टवेयरले ठूलो कारोबारमा राम्रो गरेपछि विस्तार हुँदै गएका सबै आउटलेटमा यही गइरहेको छ। पछाडि फर्केर हेर्नु परेको छैन,' कम्पनीले त्यही बेलादेखि छलाङ मारेको सन्तोषले बताए। भाटभटेनीपछि आइएमएस सफ्टवेयरले रेष्टुरेन्टमा आवश्यक सफ्टवेयर निर्माणमा हात हाल्यो। कम्पनीले यसैलाई भनेर रेष्टुरेन्ट म्यानेजमेन्ट सफ्टवेयरको नाममा नयाँ प्रोडक्ट ल्याएको उनले जानकारी दिए।

सन् २०१३ मा कर्मचारीका रुपमा छिरेका अमिर श्रेष्ठ पनि २०१९ मा प्रमोटरका रुपमा चारजना साहुजीको समूहमा भित्रिए। 'अब स्टार्टअप गरौं भन्ने सोचिरहेको थिएँ। कुरा हुँदै थियो। सगुन दाइले सेयर स्वामित्वको प्रस्ताव गर्नुभयो। केही दिन सोचेर मैले बोर्डमा छिर्ने निधो गरेँ,' श्रेष्ठले भने।

राजेन्द्र अहिले डेभलपमेन्ट एण्ड सपोर्ट विभागको निर्देशक हुन्। सगुन सेल्स् एण्ड डेभलपमेन्ट निर्देशक हुन्। अमिर भने डेभलपमेन्ट प्रमुख हुन्। जोशी कम्पनीको फाइनान्त तथा सपोर्ट विभागको निर्देशक हुन्। आइएमएसले निर्माण गरेको डिपार्टमेन्ट स्टोरसम्बन्धी सफ्टवेयरको अपग्रेडेड भर्सन श्रेष्ठको नेतृत्वमा बनेको थियो। सुरुमा यो सफ्टवेयर राजेन्द्रले बनाएका थिए। सफ्टवेयर प्रयोग त परको कुरा कम्प्युटर चलाउनै सिकाउनुपर्ने अवस्था थियो त्यो बेला।

'एउटा बैंक हाम्रो क्लाइन्ट थियो। त्यहाँ कम्प्युटरमा समस्या आयो भनेर खबर आयो। हामीले फोनमा त्यहाँको कम्प्युटर रिस्टार्ट भयो भनेर सोध्दा भयो भन्ने। बैंकको कम्प्युटर खतरा होला कति छिटो रिस्टार्ट हुने रैछ भन्ने लाग्यो। त्यतिबेलाका कम्प्युटर कति स्लो हुन्थ्यो भने रिस्टार्ट हुन्जेलसम्म केही खाएर आउन भ्याइन्थ्यो। पासवर्ड माग्छ भनेर सोध्दा माग्दैन भन्छ फेरि। बैंक नै पुगेर हेर्नुपर्‍यो भनेर गयौं। ती कर्मचारीले त मोनिटर अन/अफ गर्नेलाई रिस्टार्ट भन्दै बसेका रहेछन्।'- सन्तोषले सन् २००५ तिरको रमाइलो किस्सा सुनाए।

के-के छन् प्रोडक्ट कम्पनीले २० वर्षमा आठ हजारभन्दा बढी ग्राहकहरुलाई आफ्नो सेवा दिइसकेको छ। सोही अनुसार कम्पनीले निर्माण गरेका सफ्टवेयरहरु परिष्कृत हुँदै आएका छन्। कम्पनीले १५ सय रेष्टुरेन्टका साथै चार सय कम्पनीमा हाजिरी गर्ने सफ्टवेयर जडान गरेर सेवा दिइरहेको जनाएको छ।

कम्पनीले मलेसियामा ६ सय ठाउँमा (सर्कल के मार्ट), भारतमा पतंजलीको १० हजारभन्दा बढी फ्रेन्चाइजी आउटलेटहरुमा र जापानमा दुईवटा स्टोरमा आइएमएसकै सफ्टवेयर प्रयोग भइरहेको छ।

आइएमएस सफ्टवेयरको सबैभन्दा महत्वपूर्ण प्रोडक्ट डिपार्टमेन्ट स्टोरसम्बन्धी सफ्टवेयर हो। आइएमएस पस (पीओएस) भनेको डिपार्टमेन्ट स्टोरमा प्रयोग हुने सफ्टवेयर भएको प्रबन्ध निर्देशक ताम्राकारले जानकारी दिए। कुनै पनि रिटेलमा यसको प्रयोग गर्न सकिन्छ। यो सफ्टवेयरले बिलिङ, अकाउन्टिङ, इन्भेन्ट्री र कस्टमर लोयल्टीका विभिन्न मोड्युललाई एकै ठाउँमा ल्याउने उनले बताए।

'सामान आयो स्टक बढ्यो तर सामान किन्दा अकाउन्टमा पनि इन्ट्री हुनुपर्यो, नि। सामान बिक्री गर्दा अकाउन्टमा पनि छुन्छ, स्टक पनि घट्छ। यो सफ्टवेयरले समानान्तर प्रणाली अनुसार डिपार्टमेन्ट स्टोर सञ्चालन गर्न सघाउँछ,' ताम्राकारले भने, 'एउटा डिपार्टमेन्ट स्टोरमा सामान खरिददेखि बिक्रीसम्मको चक्रलाई यो सफ्टवेयरले चलाउँछ।'

अर्को प्रोडक्ट हो आइएमएस रेष्टुरेन्ट म्यानेजमेन्ट। यो सफ्टवेयरले केओटी, पीओटी, इन्भेन्ट्रीलगायत सबै पक्ष समेटेको ताम्राकारले जानकारी दिए। रेष्टुरेन्टको इन्भेन्ट्री व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण हुने भएपनि यो सफ्टवेयरले सजिलै गर्ने दाबी उनले गरे।

हाजिरी गर्ने सफ्टवेयर सुरुदेखिकै प्रोडक्ट भएकाले कम्पनीले अहिले पनि उक्त काम गरिरहेको बताइएको छ। कम्पनीले यसलाई परिष्कृत गरेर अटेन्डेन्स सफ्टवेयरमै पे-रोललगायतका विविध पक्षहरु समेटेको छ। स्यालरी सिट, करहरुको हिसाब, एड्भान्सहरु गणनालगायतका काम उक्त सफ्टवेयरले गर्ने ताम्राकारले बताए।

पछिल्लो पटक कम्पनीले ठूलो लगानी र जनशक्ति 'डिस्ट्रिब्यूसन म्यानेजमेन्ट सफ्टवेयर' मा उपयोग गरिरहेको छ। कुनै पनि कम्पनीको सबै वितरण चक्रलाई (सप्लाई चेन) नै समेट्ने ताम्राकारले जानकारी दिए।

'उत्पादकदेखि रिटेलरसम्मलाई यो सफ्टवेयरले समेट्छ। उत्पादकले अब अर्को महिना कति सामान उत्पादन गर्नुपर्छ, बजारमा मेरो कति स्टक छ भन्नेसम्म थाहा हुन्छ। उत्पादकले दशैंलाई भनेर कुनै स्किम ग्राहकलाई दिन्छु भन्यो भने पनि सफ्टवेयरले गणना गर्छ। यसले पूरै सप्लाई चेन कभर गर्छ,' ताम्राकारले भने।

कम्पनीका सफ्टवेयरहरु सस्तो भने छैनन्। 'हामीले सस्तोमा प्रोडक्ट बेचिरहेका छैनौं भने किन सस्तो छ भनेर जस्टिफाइ गर्ने? महँगो नै छ भनेर हामी भन्छौं। हाम्रो प्रोडक्ट राम्रो छ, फिचरहरु राम्रो छ, आफ्टर सेल्स सर्भिस राम्रो छ। नेपालमा सम्भवतः लागतका हिसाबले सबैभन्दा महँगो होला हाम्रो सफ्टवेयर,' ताम्राकारले भने। भारत, जापान र मलेसियामा बिस्तार

आइएमएसले नेपालस्थित पतंजली आयुर्वेदको सफ्टवेयरसम्बन्धी काम गर्दै आएको थियो। भारतको पतंजलीले आइएमएसलाई अप्रोच गर्यो । आइएमएसले आफूहरुले काम गर्ने सक्ने भन्दै जवाफ पठायो। आइएमएसका राजेन्द्र शाक्य र सगुनबहादुर ताम्राकार भारत पुगे।

पतंजली आफूले प्रयोग गरिरहेको सफ्टवेयरमा त्यति सन्तुष्ट रहेनछ। त्यही बेला आइएमएस त्यहाँ पुग्यो। पुरानो सफ्टवेयर निर्माताहरु पनि त्यहीँ राखेर पतंजली आयुर्वेदका अध्यक्ष आचार्य बालकृष्णले आइएमएसलाई 'सफ्टवेयर निर्माण गर्न सक्छौ?' भनेर दुईपटकसम्म सोधे। आइएमएसको टोलीले प्रस्ताव स्वीकार गरे। ठाउँको ठाउँ आइएमएस र पतंजलीबीच सम्झौताको मस्यौदा तयार भयो। मस्यौदालाई अन्तिम रुपमा दिएर सम्झौता गरेर आइएमएसको टोली फर्कियो। आइएमएसका लागि त्यो नै अहिलेसम्मको सबैभन्दा ठूलो परियोजना हो। सफ्टवेयर प्रयोग सुरु भएको साढे एक वर्षमा पतंजलीले आजको दिनमा भारतका १५ हजार आउटलेटमा प्रयोग गरिरहेको छ।

मलेसिया सरकारले लागू गरेको वस्तु तथा सेवा कर (जीएसटी) अनुरुपको सफ्टवेयर त्यहाँका मार्टहरुलाई आवश्यक परेको रहेछ। आइएमएस सफ्टवेयरले निर्माण गरेको प्रोडक्ट नेपाली डिपार्टमेन्ट स्टोर केके मार्टले प्रयोग गरिरहेको थियो। खकेके मार्ट र मलेसियाको सर्कल के मार्टको कन्सल्टेन्ट एकै रहेकाले आइएमएसलाई मसेलियाको मार्टका लागि सफ्टवेयर निर्माण गर्न सन् २०१५ मा प्रस्ताव आएको थियो।

आइएमएसको प्रोडक्ट देखेर मलेसियाली प्रतिनिधि दंग परेपछि नेपाली कम्पनीको मलेसिया प्रवेश सम्भव बन्यो। अमेरिकन सफ्टवेयर प्रयोग गरिरहेको सर्कल केले हाल आइएमएसकै सफ्टवेयर प्रयोग गरिरहेको छ। जीएसटीसहितको सफ्टवेयरका लागि अमेरिकन कम्पनीले करिब ३३ हजार अमेरिकी डलर कोट गरेको थियो। आइएमएसले आठ हजार डलरमै अमेरिकन कम्पनी भन्दा बढी फिचर र सहजताको सफ्टवेयर रातारात निर्माण गरेर डेमो नै प्रदर्शन गरेको ताम्राकारले जानकारी दिए।कम्पनीले सफ्टवेयर निर्माणका लागि तीन महिनाको समय पाएको थियो। भिसा थपेर आइएमएसको टिमले सफ्टवेयर निर्माण गर्योस। करिब ६-७ महिना लगाएका आइएमएसले प्रोजेक्ट सक्यो।

'मलेसियामा सर्कल केको ६ सय वटा क्लाइन्ट रहेछ। सानो होला भनेर गएको धेरै रहेछ भन्ने पछि थाहा भयो। हामीले त्यत्रो आउटलेट होला भनेर सोचेका पनि थिएनौं,' ताम्राकारले भने।

कुनै पनि कम्पनीको मल्टिपल आउटलेट हुँदा सपोर्ट दिन गाह्रो हुने उनले बताए। आइएमएसको सफ्टवेयर नेस्लेको करिब एक सयवटा विभिन्न आउटलेटमा प्रयोग भइरहेको छ। सबै आउटलेटमा समान रुपमा सफ्टवेयर तयार गर्न निकै चुनौतीपूर्ण हुने उनको भनाइ छ।

चुनौतीपूर्ण व्यवस्थापन आइएमएसले धेरै आउटलेट भएका कम्पनीहरुलाई सफ्टवेयर बेचेकाले त्यसको व्यवस्थापन सहज भने छैन। सफ्टवेयर निर्माण गरेपछि आवश्यकता अनुसारको समय सफ्टवेयर बिक्री गरेको कम्पनीको कोर टिमलाई सञ्चालनसम्बन्धी तालिम दिने गरेको छ। कोर टिमले आफ्नो मातहतका आउटलेटलाई तालिमलगायतका आवश्यक जानकारी प्रवाह गर्ने ताम्राकारले बताए।

आइएमएसको सफ्टवेयर प्रयोग गरिरहेको भाटभटेनीको टिम निकै बलियो र व्यवसायिक रहेको ताम्राकारले बताए। भाटभटेनीको चेन अफ कमाण्ड निकै स्ट्रिक्ट रहेकाले आफूहरुले काम गर्न सहज आइएमएस टिमको अनुभव छ। आइएमएसको एकजना कर्मचारी त्यहाँको सफ्टवेयरसम्बन्धी कामका लागि डेडिकेटेड रुपमा राखिएको छ। भाटभटेनीले खोल्ने नयाँ आउटलेटमा पनि सफ्टवेयरका लागि हेर्नु नपर्ने गरी आफ्ना कर्मचारी तयार गरेको ताम्राकारले बताए।

भर्खरै खुलेको इटहरीको आउटलेटमा पनि त्यही एक जना कर्मचारीले हेरेको जानकारी दिए। कम्पनीले जापानमा नेपालीसँगको संयुक्त साझेदारीमा खोलिएको मार्टमा भाटभटेनीमा जस्तै सफ्टवेयर आवश्यक पर्‍यो। अहिले आइएमएसलाई भाटभटेनीकै सफ्टवेयर देखेर धैरेले प्रस्ताव गरिरहेको ताम्राकारले बताए।

आइएमएसले पोखरा तथा काठमाडौंबाहेक बुटवल र इटहरीमा आफ्नो शाखा खोलिसकेको छ।

आइएमएसकै सफ्टवेयर त्रिसारा, हिमालयन जाभा, एलओडी, पर्पल हेज, एडिडास, रिबोक, लिभाइजलगायतका कम्पनीहरुले प्रयोग गरिरहेका छन्। पछिल्लो समय नेपाली बजारमा विस्तार हुँदै गएको मिनिसो, असुपसो, मिस्योलगायतका आउटलेटमा पनि आइएमएसकै सफ्टवेयर प्रयोगमा छ।

Source - https://bizmandu.com/content/20210917094203.html?fbclid=IwAR1Nl8lSagiMSYbdzBDOi2xwr0WOuwNocqFVaQdRJrzKXfEGIQFmGtFGmM0

Leave a Reply

Your email address will not be published.

Scroll to top

IMS Software Pvt. Ltd.